काठमाडौ। सरकारले स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गा प्रयोग गर्न अनुमति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सडक आयोजनाका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गा प्रयोग गर्न दिने र निर्माण सामग्रीमा लाग्ने दस्तुर छुट दिने निर्णय गरेको हो ।
अब सडकको ‘अलाइनमेन्ट’ तथा नदी किनाराबाट उत्खनन गरिने निर्माण सामग्रीहरूमा लाग्ने दस्तुर छुट दिइने भएको छ ।
यसैगरी, सडक निर्माणका क्रममा आवश्यक पर्ने अस्थायी संरचना (टेम्पोररी फ्यासिलिटिज) बनाउनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको छ।
निर्णय अनुसार सडकको कुल लम्बाइको मध्यविन्दुबाट १० किलोमिटरभित्र पर्ने गरी निकुञ्जको २० हजार वर्ग मिटर क्षेत्रफल बराबरको जग्गा आयोजनाले प्रयोग गर्न पाउनेछ।उक्त जग्गा योजना सम्पन्न नभएसम्मका लागि अस्थायी रूपमा उपयोग गर्न मन्त्रिपरिषद्ले सहमति प्रदान गरेको छ।