भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए । काठमाडौँस्थित बौद्धनाथ स्तूपको शैली र आकारलाई आधार मानेर बौद्धस्तूप निर्माण गरिएको हो ।
खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ ल्याएर काम सम्पन्न गरिएको वडाध्यक्ष माङ्पाहाङ्गले बताए । यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको उनको भनाइ छ ।
“धार्मिक तथा प्राकृतिक सम्भावना भएकाले पर्यटन प्रवद्र्धन गर्दै स्थानीयको आयस्तरमा सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले राखी स्तूप निर्माण गरेका हौँ”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।”