काठमाडौं। नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।
नयाँ मोदी–लेखनाथ आयोजना अन्तरगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न भइ बुधबारदेखि सञ्चालनमा आएको छ। लाहाचोकमा १३२र३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ। निर्माण सम्पन्न सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो हुने बताए।
यस आयोजना अन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ। एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्तर्गत लाहाचोक लेखनाथ प्रसारणलाइन निर्माणधीन रहेको छ ।