खोटाङ। खोटाङको बाराहापोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ को बीचमा पर्ने धाप्लाङघाटस्थित सुनकोशी सुनकोशी नदीको मोटरेबल पुल निर्माण सुरु भएको छ । स्वच्छन्द–रसुवा–पप्पु जेभीले अलपत्र पारेको पुल निर्माण सुरु भएको हो ।
२१ करोड ६५ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द–रसुवा–पप्पु जेभीले २०७३ असार ३० गते सम्झौता गरेको थियो । तर काम अलपत्र परेपछि उक्त ठेक्काको लिडपार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालो सूचीमा राखी धरौटी तानेपछि ज्वइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले गत मङ्सिरदेखि काम थालेको छ ।
उक्त पुलको म्याद सकिएपछि पटक–पटक थपिदै आएको छ । पछिल्लो समय २०८४ जेठ २० गतेसम्मका लागि २०८२ असारमा थपिएको हो । उक्त पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते गरेका थिए । अहिलेसम्म करिब ४५ प्रतिशत मात्र काम भएको छ भने वित्तीय प्रगति २ प्रतिशत मात्र भएको छ ।
दुई सय मिटर लामो मोटरेबल पुलको ६ वटा पिलर निर्माण गर्नुपर्नेमा चार वटा सकिएको तर त्यसमध्ये एउटा पिलर वर्षाको बाढीले क्षति पुर्याएकाले अब तीन वटा पिलर बनाउन बाँकी रहेको छ।