म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । वि.सं. २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकको अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।
सडक स्तरोन्नतिका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको थियो । रु ६५ लाखमा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले बगरदेखि सुनारीटोल खण्डमा काम थालेको वडा सदस्य बिर्खबहादुर गर्बुजाले बताए ।
“भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ‘ट्र्याक’ खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो,” उनले भने, “तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।”
योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गर्न थालिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताए ।