काठमाडौं। कसैको अगाडी यो तस्विर देखाइदिएर यो कहाँको तस्विर होला भनेर सोधेमा अनुमान गर्न निकै कठिनाइ पर्न सक्छ। करिव ६५ वर्ष अगाडीको पोखराको त्यो बेलाको मुख्य बजार क्षेत्र २६ कुरियाको तस्विर हो। हुन त यो तस्विरमा पोखराको आधा भन्दा बढी भाग देख्न सकिन्छ।
सबैभन्दा उत्तरमा लामाचौर, केआइसिंह पुल, तथा भीमकाली पाटन देख्न सकिन्छ। पृथ्वी नारायण कलेजको कुनै पनि तैयारी नै नभएको हुँदा पाटन पुरै खालि देख्न सकिन्छ। बिन्द्यवासिनी देखी सिमलचौर तथा तेर्सापट्टी हुँदै रानीपौवासम्म पनि स्पष्ट देख्न सकिन्छ।
पोखराका दुइ मुख्य दरवार सेतो दरवार र ढोका दरवार पनि देखिन्छ। तर बगाले टोल दरवार भने रुखहरुले गर्दा देखिएको छैन। सिमलचौरको बाटो भरि भएका सिमलका रुखहरु देख्न सकिन्छ। पोखरामा सलाइ फैक्ट्री आइनपुगेको हुँदा सिमलका रुखहरु काटिएका छैनन्। पोखराका अधिकांश सिमलका रुख सलाइ फैक्ट्रीले नै भ्याइदिएका हुन्।
यस तस्विरमा न त महेन्द्रपुल बजारको कुनै रुपरेखा कोरिएको देखिन्छ। न त अहिले नयाँबजार भनिने उहिलेको स्याउलेबजारमा घडेरी नै शुरु भएको छ। केही बास्तोलाथरका बास्तोलाका घरहरु र दरवारथोक तिरका खवासहरुको केही घर देख्न सकिन्छ। राममन्दिरको पौवा भने देख्न सकिन्छ। रानीपौवामा महेन्द्र बटालियनका केही संरचना भर्खर बन्न थालेका छन्। अगाडीको चौर भने खुलै छन्। सैनिकले अहिले आफ्नो बनाएको रानीपौवाबाट फुलवारी निस्कने सेती किनारको बाटो स्पष्ट देख्न सकिन्छ।