बाजुरा । बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् । बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका– २ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरु भएको हो ।
पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समय सम्म स्थानियलाई आवतजावतमा सहजता दिनका लागि बेलिब्रिज निर्माणको कार्यपनि एकैसाथ शुरु गरिएको बुढिनन्दा नगरपालिकाका नगर उप–प्रमुख राम बहादुर बोहराले जानकारी दिए ।
बोहराले बेलिब्रिजको शिलान्यास गरेको तीन दिन पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका हुन् । वर्षौंदेखि यस खोलामा पुल नहुँदा स्थानीय र केहि छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायतका नागरिकले समेत बर्षातको समयमा सास्ती खेप्नु परेको अवस्था छ ।
जडाङ्गाको बेलिब्रिज दानासाँघु खोलामा स्थानान्तरणको लागि निर्माण कार्य भईरहेको हो । सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख रुपैयाँ लागतमा बेलिब्रिज पुल सार्न लागेको हो भने प्रदेश सरकारको भ्याट र पिएस सहित ३ करोड ९३ लाख ७५ हजार ३ सय ९६ रुपैयाँ लागतमा पक्की पुल निर्माण हुनेछ ।