हुम्ला । हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा पुगेका छन् ।
चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर उनीहरु जिल्ला सदरमुकाम सिमकोट झरेका हुन् ।
यस वर्ष हिमपात नभए पनि नारा सडकखण्ड गएको गत कात्तिकमा परेको हिउँले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवासमेत बन्द भएको छ ।