काठमाडौं। काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग बजेटको अभाव नभएको बताएका छन्।
काठमाडौं महानगरपालिका–१८ मा रहेको देवघरको खरु पूजा (मूल ढोकाको पूजा) गर्दै मेयर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका हुन्।
पुनःनिर्माण भइरहेको देवघरको पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौंका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेको उल्लेख गरे।
उनले भने, ‘एकको अभावमा अर्को अधुरो हुन्छ। त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त–अमूर्त) जोगिने गरी पुनःनिर्माणका लागि राज्यका तर्फबाट लगानी गर्नुपर्छ।’
पूजा कार्यक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले देवघर पुनःनिर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिने बताए।
भवन निर्माणका लागि रु छ करोड लाग्ने अनुमान गरिएको छ। महानगरले यसका लागि गएको वर्ष रु एक करोड र चालु आर्थिक वर्षका लागि रु एक करोड छुट्याएको छ।