काठमाडौं । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भयो।
बुद्ध एयरका अनुसार एक यात्रुले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।
घटनापश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा गएको थियो भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भरेको छ ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रु वर्गमा पारेको असुविधाप्रति बुद्ध एयरले क्षमाप्रार्थी गरेको जनाएको छ।