काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ। काठमाडौं–ल्हासा उडानका क्रममा रहेको उक्त जहाज पार्किङ गर्दा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ।
ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको निगमले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीएरआईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ। इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइने निगमले जनाउको छ।
यसैगरी निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौं–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो। श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इञ्जिनियरिङ टिमले उक्त जहाजको मर्मत गरेपछि उक्त जहाजले बिहीबार काठमाडौं–दिल्ली नियमित उडान गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेको दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन्।