काठमाडौं। देशका अधिकांश स्थानमा आज बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा समेत बिहानैदेखि हुस्सु लागेको हो।
तराईका अधिकांश जिल्लामा भने नजिकैका मानिस तथा वस्तुसमेत नदेखिने गरी हुस्सु लागेको छ भने पहाडि र हिमाली जिल्लामा बाक्लो कुहिरो लागेको छ।
हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समस्या भएको कलंकी–चाबहील माइक्रो चलाउने एक चालकले बताए। बिहानैदेखि हुस्सु र कुहिरोका कारण अँध्यारो भएर गाडिहरु नदेखिने र मधुरो लाइट बालेको देखेको आधारमा सवारी चलाउनु परेको उनको भनाइ छ।
बिहानै क्याम्पस पढाउन हिँडेका मोरङ सुन्दरहरैँचाका एक शिक्षकले हुस्सुका कारण र अत्याधिक चिसोले गर्दा मोटरसाइकल चलाउन समस्या भएपछि आफू सार्वजनिक सवारी साधनमार्फत क्याम्पस गएको बताए।
चिसो र हुस्सु तथा कुहिरोका कारण सवारी सञ्चालनमा समस्या भएपछि सवारी दुर्घटना हुने सम्भावना पनि बढ्छ। यस विषयमा सवारी चालक स्वयमले ध्यान दिनुपर्ने देखिन्छ।
धेरै ठाउँमा वर्षापछि परेको हिमपातका कारण पनि सडक अवरुद्ध भएका छन् जसले गर्दा यातायात सेवा ठप्प छ।