पोखरा। गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र त्यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल पोखराको आयोजनामा बिहिबारदेखि पर्यटकीय सहर लेकसाइडमा सुरु भएको २३औँ संस्करणको सडक महोत्सवको उद्धघाटन गर्दै उनले पोखरालाई सुन्दर रूपमा रहन दिनुपर्नेमा जोड दिएका हुन्।
फेवातालको संरक्षणका लागि आएका प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाएका छन्। देशका विभिन्न भू–भागमा रहेका पर्यटकीय क्षेत्रमा २४ सै घण्टा रेष्टुरेण्ट खुलोस् भन्ने चाहना सरकारको रहेको बताउँदै उनले त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको जनाएका छन्। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशङ्का रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ बचाउनुपर्ने कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्रीको धारणा रहेको छ। यसैगरी गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले नेपालको पर्यटनको राजधानी पोखरा हो भनेर घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गरेका छन्।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ‘सडकमै खाऔँ, सडकमै नाचौ र सडकमै रमाऔँ’को नारासहित रेवानले सडक महोत्सव आयोजना गरेको हो। फेवाताल किनार लेकसाइडको तीन किमी क्षेत्रको सडकमा महोत्सव गरिने संयोजक नरेशबहादुर भट्टराईले जानकारी दिएका छन्। उक्त सडक महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।