काठमाडौं । काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यस योजनाको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ।
यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहावतर्फ १४ मिटरको हुनेछ । निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ ।
सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दीपकबहादुर शाहीले बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुबान र कटानको जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्न लागेको बताए ।
उनले भने, ‘अहिले त्यहाँ पानी निकासका लागि राखिएका ह्युम पाइप पुराना भइसकेका छन्। बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुवान र कटानको जोखिम बढ्छ। त्यसैले बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।’
कल्भर्ट निर्माणको क्रममा उक्त सडक पूर्ण रूपमा बन्द हुनेछ । त्यसैले डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने, र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिने सवारीका लागि वैकल्पिक मार्ग कमलादी मोड, कमलादी गणेश मन्दिर, घण्टाघर मार्ग उपयुक्त हुने अपेक्षा गरिएको छ।
काम सुरु भएपछि सडक खण्ड करिब २ महिना बन्द रहनेछ । धोवीखोला नदी नजिक रोजबर्ड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण हुने भएको छ । यस कल्भर्टको लागत २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ रहेको छ भने प्रारम्भिक लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपैयाँ थियो।
यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटर हुनेछ । काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ।
‘यस ठाउँमा रहेको पुरानो फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले क्षति पु¥याएको थियो। वडाले निर्माण योजना बनाउँदै गर्दा महानगरपालिकाको केन्द्रीय बजेटबाट काम हुन लागेको हो,’ वडा नं.११ का अध्यक्ष हीराला तण्डुकारले भने ।