काठमाडौं। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका स्थित पोखरीनारायणस्थानमा तामाङ संग्रहालय निर्माण गरिने भएको छ। गाउँ कार्यपालिकाको कार्यलयले सो क्षेत्रमा संग्रहालय निर्माण गर्न लागेको हो।
गाउँपालिकाले तामाङहरुको ऐतिहासिक पुरातात्त्विक बस्तुहरु र प्राचिन सँस्कृतिलाई जगेर्ना गरी राख्नको लागि संग्रहालय ब्लक, बाउन्ड्री, टिकट काउन्टर, आरसीसी ट्याङ्की र शौचालय ब्लकसहितको तामाङ संग्रहालय निर्माण गर्ने भएको हो। यसले भावि पुस्तालाई पुर्खाको भेषभुषा, भाषा, सँस्कृति आदिको ज्ञात गराउने छ। तामाङको लोक संस्कृति, लोक बाजा आदीको संरक्षण गर्नको लागि पनि सो संग्रहालय निर्माण गर्न लागिएको हो।
करिब १ करोड लागानी रहने संग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहनेछन्। यसले पर्यटन विकासमा पनि सघाउ पुर्याउने छ। सो क्षेत्रमा अवलोकन भ्रमणमा आएका पर्यटकहरुले तामाङहरुको भाषा, सँस्कृति, पेशा, व्यवसाय आदिको बारेमा जानकारी लिन पाउने छन्। यसले गर्दा आर्थिक विकासमा पनि टेवा पुग्ने छ। सो सङग्रहालय निर्माणको जिम्मा कालिका निर्माण सेवाले पाएको छ भने हाल ठेक्का प्रक्रियाको चरणमा रहेको छ।
अहिलेको युवाहरु प्राचिन सँकृतिलाई विर्सिएर आधुनिकतातिर मोडिन थालेको कारणले गर्दा प्राचिन ऐतिहासिक वस्तुहरुको लोप हुदै गएको अवस्थालाई मध्यनजर गरेर सो योजनालाई अघि बढाइउको गाउँपालिकाको कार्यलयले जानकारी दिएको छ।