म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिको काम लक्ष्यअघि पाँच महिना अघि नै सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन भएको सडक स्तरोन्नतिको काम सम्झौता अवधिको पाँच महिना बाँकी रहँदै सम्पन्न भएको हो ।
गण्डकी प्रदेश सरकारले तीन करोड ५९ लाख ९८ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको योजना निर्माणका लागि बिबिपीएल बिएसडीएस धवलागिरि छनोट भएको थियो ।
विसं २०८२ असार १६ गते दुई करोड २३ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म थियो । निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको, स्थानीयस्तरमा सहजीकरण, निगरानी र सम्बद्ध कार्यालयबाट भएको समन्वयका कारण लक्ष्यअघि नै योजना सम्पन्न भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।
‘धेरैजसो आयोजना ढिलासुस्तीले थला परेका अवस्थामा व्यवसायी, सम्बद्ध कार्यालयको इच्छाशक्ति र स्थानीयस्तरमा सहजीकरण गरेर काम हुने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘योजना निर्माणमा आउने सामाजिक समस्याको सहजीकरण गर्न सरोकार समिति बनाएका थियौँ ।’
यस योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर डा। महेन्द्र बानियाँले बताए ।