म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिनाअघि नै सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजनामार्फत प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीले काम थालेको दुई महिनामै सम्पन्न गरेको हो ।
विसं २०८२ चैत ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित गत मङ्सिर २८ गते रु ३६ लाख १८ हजार ३४३ मा ठेक्का सम्झौता गरेको एसएस विल्डर्स प्रालिले यसै हप्ता काम सम्पन्न गरेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
घारको बिरौटा चोकदेखि भुन्या खण्डमा यसअघि सोलिङ भएको ठाउँमा ३०० मिटर आरसिसी ढलान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर र घोडेपानी जोड्ने यो सडक पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक पनि हो । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सडक ढलान भएपछि स्थानीयवासीका साथै घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई सहज भएको बताए । निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यभन्दा अगाडि नै सडक निर्माण गरेको वडाध्यक्ष खड्काले बताए।