रुपन्देही । निर्माण शुरु भएको सात वर्ष बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा शिलान्यास गरेको राष्ट्रिय गौरवको यो आयोजना निर्माण तीन वर्षमा सक्ने लक्ष्य राखिए पनि हालसम्म पूरा हुनसकेको छैन।
तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग ६ अर्ब ८२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भए पनि निर्माण शुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो।
छैटौं पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख अधिकारीले बताए।
उनका अनुसार अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेको र अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम भइरहेको छ ।