काठमाडौं। बाक्लो हुस्सुका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै उडान प्रभावित भए। हुस्सुका कारण तराईका विमानस्थलबाट हुने उडान अवतरण पनि ठप्प भएको छ।
भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि ठप्प भएका हुन्।
त्रिभुवन विमानस्थलमा आज बिहानको भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो। अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन।
विमानस्थल कार्यालयका अनुसार सामान्यतया उडान र अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ।
काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरमा झरेको छ। त्यस्तै धनगढी र नेपालगञ्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ। विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाले जनाएको छ।
अहिले भने काठमाडौं उपत्यकामा हुस्सु कम भएर मधुरो घाम लागेको छ। तराईका जिल्लाहरुमा पनि हुस्सु कम हुँदै गएको छ। हुस्सु र कुहिरो कम भएसँगै भिजिबिलिटी बढ्ने र उडान अवतरण सुचारु हुने आंकलन गरिएको छ।