पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण तीव्रगतिमा भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी– गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेवल पुल निर्माण भइरहेको छ ।
तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । विसं २०८० कात्तिकदेखि निर्माण सुरु भएको पुल हालै सञ्चालनमा आएको हो ।
२५ मिटर लामो उक्त पुल रु चार करोड ४३ लाख लागतमा निर्माण भएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । उहाँका अुनसार यो पुल निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सनले पाएको थियो ।
वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंयु गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोक्सीङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमास सहज रुपमा उक्त सडक सञ्चालनका लागि सहज भएको पैंयुँ गाउँपालिकाका पूर्वअध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिए ।
बजेट अभाव, राजनीतिक अस्थिरतालगायतका कारणले निर्धारित समयभन्दा केही ढिलो गरी पुल सम्पन्न भएको हो । हिउँदका याममा खोलाबाटै सानाठूला सवारी साधन सञ्चालन हुने गरेपनि बर्षायाममा भने सडक ठप्प हुने गरेको थियो । मोटरसाइकल, साइकल जस्ता सवारी साधन धने बस्तीभन्दा माथि रहेको झोलुङ्गे पुलवाट वारपार गर्दै आएका थिए ।
पुल सम्पन्न भएसँगै स्थानीय हर्षित बनेका छन् । लुंखु–हुवास सडकको बैकिल्पकमार्गका रुपमा रहेको सरौ–होश्राङ्दी–बालाकोट सडक अब बाह्रै महिना सञ्चालन हुने भएकाले विशेषगरी सरौखोलाको उपल्लो भेग, बालाकोट, होश्राङदीका बासिन्दालाई पैंयू गाउँपालिको केन्द्र हुवास हुँदै स्याङजा, पाल्पा, बुटवल जानका लागि सहज भएको पैंयू गाउँपालिका–६ सरौखोलाका अध्यक्ष गङ्गाधर अधिकारीले जानकारी दिए ।