काठमाडौं। उपत्यकामा रहेको एक मात्र गजेन्द्र मोक्ष नारायणको मन्दिर हो यो। खासगरी स्वप्नदोष निवारणको लागि यो मन्दिरमा पूजा गर्ने प्रचलन छ।
पाटनढोकाबाट धलांयचा लँ हुँदै अगाडि जाँदा क्वास्लँखु पुगिन्छ। केही अगाडि स्वँ तँ (स्वथ) नारायणको मन्दिर आउँछ। कुनै बेला आएको ठूलो भूकम्पले मन्दिरको तीन तला नै जमिन भित्र धसिए पछि माथि पून मन्दिर बनाईएको हुँदा यस मन्दिरको नाम नै स्वँ तँ नारायण हुन गएको थियो। र अचेल यस मन्दिरलाई स्वथ नारायण भनिन्छ। यहिं मन्दिर नजिकै गजेन्द्र मोक्ष नारायणको मन्दिर छ।
पुराणका कथाहरुका अनुसार गजेन्द्र नाम गरेका हात्तीलाई पोखरीमा गोहीले खुट्टामा समाउँदा भगवान विष्णुनारायणको ध्यान गरेर पुकार्दा नारायणले आफ्नो सुदर्शन चक्रले गोहीको शिर काटेर मुक्त गरिदिएको हुँदा संकटमोचनको रुपमा गजेन्द्र मोक्ष स्तोत्रको पाठ गरिन्छ। यहाँ गजेन्द्र मोक्ष नारायणमा पनि दुस्वप्न दोष मुक्तिको लागि दर्शन गर्ने गरिन्छ।
केही वर्ष अगाडि त्रिवेणी धाममा पनि गजेन्द्र मोक्ष नारायण मन्दिरको स्थापना गरिएको छ।