काठमाडौं। बाक्लो हुस्सु र कुहिरोका कारण आज बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन सञ्चालनमा आएको छ। मौसम सफा हुनासाथ विमानस्थलमा उडान र अवतरण शुरु भएको हो।
विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन्। यस्तै आन्तरिक उडान तथा अवतरण पनि शुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द भएको थियो। विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो।
खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौंदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर लगाएका थिए ।