काठमाडौं। रुपन्देहीको तिलोत्तमामा निर्माण भएको नाइटकुञ्ज पार्कमा पूर्वाधार निर्माण हुने भएको छ। तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुरमा रहेको उक्त पार्कमा पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो। नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले पूर्वाधार निर्माणको काम गर्ने भएको छ।


रुपन्देही ऐतिहासिक पर्यटकीय स्थल भएको हुनाले वर्षेणी हजारौ पर्यटक त्यहाँको मनमोहक दृश्यावलोकनको लागि जाने भएकाले गर्दा पछिल्लो समय पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिइएको छ। यसबाट पर्यटक अझ बढी आकर्षित हुने अपेक्षा राखिएको छ। ऐतिहासिक सम्पदाले भरिपुर्ण भएको बुटवलमा पर्यटकको आवागमण बढाउने उद्देश्यले पछिल्लो समय पार्क, सङग्रहालय, उधान जस्ता पर्यटकीय सम्पदाहरु निर्माण भइरहेको छ। त्यसैमध्येमा निर्माण भएको नाइट कुञ्ज पार्कमा पनि पर्यटकलाई सेवा तथा सुविधा प्रदान गर्नका लागि विभिन्न पूर्वाधार निर्माण गरिने भएको छ। सो पार्कमा पिङ, बच्चाको लागि चिप्लेटी जस्ता मनोरञ्जनात्मक बस्तुहरु पनि निर्माण हुने भएका छन्। यसैगरी पार्क अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर पार्क परिसरमा होमस्टे पनि निर्माण गर्ने योजना रहेको छ। पहिले जंगल नै जंगलले ढाकिएको कुञ्जपुलारमा हाल सुन्दर पार्क निर्माण भएको छ।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सो पार्कमा पर्यटकीय पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको छ। करिब ४२ लाख लागतमा पार्क परिसरमा पूर्वाधार निर्माण गरिने भएको हो। यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने छ। साथै पार्क परिसरमा थप पूर्वाधार निर्माणले पार्कमा अझ सुन्दरता थपिने छ। यसवाट पर्यटक मोहित हुने नगरपालिकाको विश्वास रहेको छ। यस कार्यले आर्थिक विकासमा पनि मद्धत पुग्ने देखिएको छ।
