लमजुङ। लमजुङ जिल्लाको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। १२ मेगावाटको यस आयोजनाको काम ९७ प्रतिशत पूरा भएको हो।
आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह सबै क्षेत्रको काम एक साथ भइरहेको कम्पनीले जनाएको छ।
गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनीसिङको काम सकिएको आयोजनाले जनाएको छ। अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ। ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको छ।
विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ।आयोजनाको सिभिल संरचना निर्माणको काम पूरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर कोरोना महामारीको असरले आयोजना केही समय पछि धकेलिएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ। सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ।