काठमाडौं। केहि दिन अघीदेखि बिजुली जाने आउने समस्या भइरहेको छ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गइरहने समस्या समाधान हुने बताएका छन्।
विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला विद्युत जाने गरेको उनले जानकारी दिए। शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३।४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो। यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन। सप्लाई नपुगेको हुनाले हाआपूर्ति नभएको पनि होइन।’
उनका अनुसार बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको छ। अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको भन्दै उनले भने, लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ। केही फिडरहरुमा पनि आगलागी भयो।’
उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसकेपछि विद्युत जाने समस्या नहुने उनले जानकारी दिए। काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिने जानकारी दिँदै उनले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाट विद्युत् आपूर्ति गर्न सक्ने बताए।