काठमाडौँ — नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १७ औं बैठकले सन् २०२६ का लागि बिजुलीको मूल्यदर तय गरेको छ । बैठकले सन् २०२५ को तुलनामा सन् २०२६ का लागि प्रतियुनिटमा १.५ प्रतिशत मात्र मूल्यवृद्धि गरेको हो ।
बैठकले १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने बिजुलीको दर प्रतियुनिट ८.२२ भारु (१३ रुपैयाँ १५ पैसा), ३३ केभीमा प्रतियुनिट ८.९१ भारु (११ रुपैयाँ ५८ पैसा) तथा ११ केभी स्तरमा प्रतियुनिट ९.५५ भारु (१५ रुपैयाँ २८ पैसा) कायम गरेको हो ।
बैठकमा नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व गरेका थिए । भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका बोर्ड सदस्य विजयकुमार सिंहले गरेका थिए । सन् २०२५ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तोकिएको थियो । ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली मूल्य प्रतियुनिट दर ८.७८ भारु (१४ रुपैयाँ ०४ पैसा) र ११ केभी प्रसारण लाइनमार्फत आयात निर्यात हुने विद्युत्को प्रतियुनिट दर ९.४१ भारु (१५.०५ रुपैयाँ) तोकिएको थियो । सन् २०२५ का लागि पनि १.५ प्रतिशत मूल्यवृद्धि गरेको थियो ।