काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले नयाँ रणनीतिसहित पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्।
नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सव कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री आलेले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको बताएका हुन्।
उनले बोर्डलाई संघीय संरचनाअनुरुप लैजान तथा कर्मचारीको वृति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताए। उनले उत्साहका साथ काम गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन्।
कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको बताए।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउँदै त्यसका लागि पहल गर्न मन्त्रालयलाई आग्रह गरेका छन्।