कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको हो ।
चौध पिलरको पुलका सबै पिलर बनिसकेका छन् भने अहिले १२औँ स्पानमा काम भइरहेको छ । अबको १५ दिनभित्र त्यो पनि सकेर १३औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
पुलको काम अन्तिम चरणमा पुग्नै लाग्दा अहिले नदी वारपार गर्ने मानिसहरु आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेका छन् । नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेको जसरी डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने अवस्था नागरिकको अहिले नै टरेको छ ।
कैलालीका नागरिकको खेतीपाती बर्दियामा छ भने बर्दियाका नागरिक किनमेल र उपचारका लागि टीकापुर जाने गर्दछन् । एक अर्ब १८ करोड लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७५२ मिटर रहेको छ भने पुलको चौडाइ ११ मिटर जसमा ७ दशमलव ५ मिटर गाडी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहेको छ ।
निर्माण कम्पनीले सरकारसँग २०८३ असोज १७ गतेभित्र पुल निर्माण काम सक्नेगरी २०७९ पुस १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माणसँगै पुलको दुवैतर्फ ५०० मिटर पहुँच मार्ग र दुवैतर्फ एक हजार १५ मिटर नदी नियन्त्रणको काम पनि गरिरहेको छ ।