हेटौंडा । चितवनको बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा निर्माणाधीन मातृशिशु भवनमा पटक–पटक ढिलाइ भएपछि ठेकेदारलाई लिखित प्रतिबद्धता दिन कडा निर्देशन दिइएको छ। भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले रत्ननगर–२ स्थित अस्पतालको स्थलगत अनुगमन गर्दै कामको प्रगति असन्तोषजनक रहेको बताए।
निर्धारित समयसीमा सकिँदा पनि भवन पूरा नभएपछि मन्त्रीद्वयले निर्माण कम्पनीसँग स्पष्टीकरण माग्दै अब मुख्य सञ्चालक आफैं उपस्थित भएर काम सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता जनाउन निर्देशन दिएका छन्। प्रगति नदेखिए म्याद थप नगरी जरिवाना वा वैकल्पिक कानुनी प्रक्रिया अपनाइने चेतावनी समेत दिइएको छ।
अस्पताल व्यवस्थापनका अनुसार भवन अभावकै कारण दैनिक १५ सयभन्दा बढी सेवाग्राही प्रभावित भइरहेका छन्। आवश्यक उपकरण भए पनि स्थान अभावले सेवा विस्तार रोकिएको छ।
करिब ७० प्रतिशत भौतिक प्रगति भएको भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अब थप ढिलाइ सह्य नहुने सरकारी पक्षको अडान छ।