गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले काठमाडौँ–रेसुङ्गा रुटमा आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने नयाँ तालिका सार्वजनिक गरेको हो। यसअघि तीन दिन मात्रै उडान हुँदै आएको थियो।
निगमका अनुसार ट्विनअटर जहाज मर्मतपछि उडान थप गरिएको हो। उडान विस्तारसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भाडादर पनि बढाइएको छ। नयाँ दरअनुसार काठमाडौंबाट रेसुङ्गाका लागि १० हजार ९०२ रुपैयाँ र रेसुङ्गाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दरभन्दा उल्लेख्य वृद्धि हो।
पछिल्लो समय नियमित उडान भइरहेसँगै यात्रु सुविधामा सुधार आएको छ। हवाई सेवा सञ्चालन भएपछि १६–१८ घण्टाको स्थलयात्रा घटेर करिब ४५–५० मिनेटमै राजधानी पुग्न सकिने भएको छ, जसले पर्यटक आगमनमा समेत वृद्धि गरेको छ।