काठमाडौं। सर्लाहीको अधिकांश गाउँमा बिजुली बत्ति पुगेसँगै बिजुलीबाट चल्ने मिल खुल्न थालेपछि किसानलाई कुटान पिसान गर्न सहज हुन थालेको छ। जिल्लाको हरेक बस्तीमा मिल निर्माण भएपछि किसानलाई सहज भएको हो। गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै घण्टौं लगाएर जाँतोमा अन्नपात पिस्नुपर्ने बाध्यता अन्त्य भएको हरिपुर नगरपालिका– १, संखुवाका स्थानीयले बताएका छन्। मिल निर्माण भएपछि समयको पनि बचत भएको स्थानीयको भनाइ छ।
यसैगरी मिल निर्माण भएपछि किसानले उब्जाएको मकै, धान, गहुँलगायतका अनाज कुटान पिसान गर्न ढिकी, जाँतोको प्रयोग हुन छाडेको छ। सर्लाहीमा २० वटा स्थानीय तहका २०० वटा वडामा विद्युतीकरण भइसकेको छ। विद्युत् पुगेकाले प्रत्येक वडामा बिजुलीबाट चल्ने मिल पनि पुगेको छ। जिल्लाको अधिकांश स्थानीयवासी कृषि पेशामा आवद्ध रहेको कतिपय ठाउँमा एउटै वडामा आधा दर्जन बढी मिल सञ्चालनमा रहेका छन्।
सुरुमा डिजलबाट चल्ने मिल सञ्चालन गरेको भए पनि केही वर्षदेखि विद्युत्बाट चल्ने मिल सञ्चालन हुन थालेको छ। सर्लाहीको बरहथवा नगरपालिका– ९, मूर्तियाका वडाध्यक्षले गाउँघरमा खुलेका कुटान पिसान मिलले पशुपालक किसानलाई राहत मिलेको जानकारी दिएका छन्।