म्याग्दी, धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु गरिएको छ। गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन भएको आयोजनाले छोटो दूरीको यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको यस आयोजनाको ठेक्का सापकोटा विल्डर्ससँग करिब ७४ लाख रुपैयाँमा गरिएको हो। हाल ताकम–हिलापोखरी खण्डमा सडक फराकिलो पार्ने, नाली, ग्यावियन पर्खाल र कल्भर्ट निर्माणको काम भइरहेको छ।
फागुनदेखि सुरु भएको निर्माण कार्यमा आधाभन्दा बढी प्रगति भइसकेको र असारअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीले जनाएको छ। वैकल्पिक मार्गका रूपमा रहेको यस सडक स्तरोन्नतिपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ।