लुम्बिनी-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणमा प्रदेशका गौरव आयोजना र बहुवर्षीय योजनालाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिएको छ। बुटवलमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री चेतनारायण आचार्यले अबको बजेट विगतजस्तो छरिएको नभई केन्द्रित र यथार्थपरक हुने बताए।
उनका अनुसार पहिलो प्राथमिकता गौरव र बहुवर्षीय आयोजना, दोस्रो प्राथमिकता अधुरा योजना सम्पन्न गर्ने, र त्यसपछि मात्रै नयाँ आयोजना समेटिनेछ। “योजनाको भीड होइन, परिणाममुखी बजेट चाहिएको छ,” भन्ने सन्देश सरकारको प्राथमिकताबाट स्पष्ट देखिन्छ।
मुख्यमन्त्री आचार्यले प्रदेशको वास्तविक आर्थिक क्षमताभन्दा बाहिर गएर बजेट नबनाइने दोहोर्याउँदै हाल करिब ६ अर्ब रहेको राजस्वलाई आगामी वर्ष साढे ६ अर्बसम्म पुर्याउने लक्ष्य लिइएको जानकारी दिए। विगतका कमजोरी सुधार गर्दै आवश्यकताआधारित बजेट निर्माण गरिने उनको भनाइ छ।
अनुगमन प्रणाली बलियो बनाउन जिल्ला समन्वय समितिको भूमिकासमेत विस्तार गरिएको छ भने स्थानीय तह र प्रदेशसभा सदस्यलाई पनि अनुगमनमा जोड्ने तयारी भइरहेको छ। संविधानले दिएको अधिकारभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले लुम्बिनी प्रदेश राजस्व संकलनमा सुधार गर्दै बागमतीपछि अग्रस्थानमा रहेको दाबी गरे।