म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
आगामी जेठ १५ गतेसम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बावजुद पनि लक्ष्यभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा रु ५० लाख बजेट बिनियोजन गरेको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र कम्पनीबीच २०८२ माघ ६ गते रु ४६ लाख २९ हजार १२४ मा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेर गत चैत महिनामै निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक चक्रलाल पाण्डे बताए । कार्यालयका अनुसार उक्त योजनाको ९६ दशमलब २२ प्रतिशत भौतिक प्रगति भएको छ ।
कार्यालयका अनुसार उक्त योजनामार्फत कुहँ गाउँभित्र ५१ मिटर दुरीमा सडक फराकिलो पारेर मेसिनरी पर्खाल र नाली निर्माण भएको छ । उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने सडकको २५० मिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार भएको छ ।