सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ । उक्त सडक निर्माण सुरु भएको १० वर्षमा जम्मा १८ किलोमिटरमा सडक निर्माण गरिएको छ । मुगु सदरमुकाम गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो दुरीको यो सडक नेपाल–भारत–चीनको त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्त्वपूर्ण आधार विश्वास गरिएको छ ।
आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट निर्माण थालिएको यो सडक १० वर्षमा १८.५ किमी मात्रै निर्माण भएको छ । भौगोलिक विकटताका कारण सडक निर्माणको काले गति लिन नसकेको बताइएको छ । नौ वर्षमा १८ किलोमिटर ट्याक खोलिएको उक्त सडक चालु आर्थिक वर्षमा २४ किलोमिटर पु¥याउने लक्ष्य रहेको छ । भौगोलिक विकटता रहेको उक्त सडकमा प्रयाप्त बजेट नछुटाउँदा अपेक्षाकृत प्रगति हुन नसकेको हो ।
कर्णालीलाई भारत र चीनसँग जोड्न सरकारले नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी कर्णाली कोरिडोर र नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–धो–मोरिम्ला–तिब्बत जोड्ने गरी भेरी करिडोरको अवधारणा ल्याए पनि सडक निर्माणको काम ज्यादै सुस्त छ । आव २०६२÷०६३ मा विस्तृत सर्भे अनुसार २५ करोड लागत अनुमान गरिएको भए पनि समय बढ्दै जाँदा सडकको लागत पनि बढ्ने देखिएको छ ।
संघीय सरकारको मातहत रहेको उक्त सडक आयोजनामा केही वर्ष बजेट नै नछुट्याए पछि ओझेलमा परेको थियो । २०७३ बाट गमगढी–नाक्चेलाग्ना सडकको ढुंगेधारासम्म ‘डीपीआर’ गरी सडक डिभिजन कार्यालय जुम्लाले सडकको कामलाई अघि बढाएको थियो । आर्थिक २०७८÷०७९ चार करोड ९३ लाख खर्च भएको उक्त सडकमा आ।व २०७९÷०८० मा चार करोड ४० लाख बजेट खर्चिएको थियो । चालु आव २०८२÷८३ का लागि संघीय सरकारले १५ करोड स्रोत सुनिश्चित गरेपछि सडक निर्माणको काम अगाडि बढाइएको छ ।
प्रदेश राजधानी सुर्खेतबाट सबैभन्दा छोटो नाका मानिएको ३ सय ३२ किमीमा ६७ किलोमिटर सडक खोल्न अझै बाँकी छ । गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत २२० मिटर कडा चट्टान छिचोल्न आइतबारदेखि ब्लास्टिङ सुरु गरिएको छ । कडा चट्टानी भीर रहेकोले सडक डिभिजन जुम्लाले नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ सुरु गरेको हो ।
दुर्गम भौगोलिक अवस्था, जोखिमपूर्ण भीर र सीमित स्रोत–साधनका बाबजुद पनि विकासको लक्ष्यलाई अगाडि बढाउँदै चट्टान छिचोल्न ब्लास्टिङ सुरु गरिए पछि कामले गति लिने अपेक्षा गरिएको छ । बजेट सुनिश्चित भएसँगै सडक निर्माणको थालिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।
‘नेपाली सेनासँगको समन्वयमा कडा चट्टानमा ब्लाष्टिङको काम सुरु गरिएको छ’ उनले भने, ‘२२० किमी कडा चट्टानमा ब्लाष्टिङ गर्नु पर्ने भए पछि काम थालिएको छ ।’
१८.५ किमी ट्याक खुला गरिएको छ चालु आर्थिक वर्षमा थप ६ किमीमा ट्याक खोलेपछि झन्डै २५ किमीमा ग्राभेल गरी सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।
नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबिच सहमति भएको हो । हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामा बताउँछन् । नेपालतर्फ सडक सुविधा छैन। स्थानीय र व्यापारीले घोडा, खच्चर र चौर गाईको सहयोगमा व्यापार गर्ने गर्छन् ।
गमगडी–नाक्चेलाग्ना सडक निर्माण र ग्राभेल गर्ने गरी जागृति–रारा तेन्जिन–नो¥याङ जेभीले ठेक्का लिएको छ । मुगु गमगढीदेखि तिब्बत नाका पुग्न पैदल पाँच दिन हिँड्नुपर्छ । नाकासम्म मोटर बाटो खुले दुई देशबिच व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ । सन् १९१५ देखि सीमावर्ती मुगु गाउँका आदिवासी जनजाति र तिब्बतीबिच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा व्यावसायिक सम्बन्ध वैध बन्न सकेको छैन ।
जमनाहा नाकादेखि सुर्खेत, दैलेख सदरमुकाम महावु, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म सडक विस्तारका लागि सरकारले त्रिदेशीय सडकलाई प्राथमिकतामा राखेको छ । यो सडक निर्माण भए अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर सडक छोटो र सुरक्षित हुनेछ ।