काठमाडौं। सिन्धुली जिल्लाको दुर्गम क्षेत्र पछिल्लो समय धमाधम राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिदैछ। नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहले राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार गरी दुर्गम क्षेत्रमा उज्यालो पुर्याउने कार्यलाई तीव्रता दिएका हुन् ।
हालसम्म जिल्लाको ४५ हजार ४ सय घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको विद्युत् प्राधिकरण सिन्धुली शाखाले जनाएको छ। सो जिल्लामा अझै करिब २५ हजार घरपरिवार राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँचबाट बाहिर रहेका छन्।
चालू आर्थिक वर्षमा जिल्लाको कुल घरपरिवारमध्ये ८० प्रतिशतभन्दा माथि घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुर्याउने योजनासहित विद्युत् लाइन विस्तारको कार्य भइरहेको छ। अर्को आर्थिक वर्षमा जिल्लाका सबै घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुर्याउने योजना रहेको छ।
जिल्लाकै दुर्गम घ्याङ्लेख गाउँपालिकाको लगानी र विद्युत् प्राधिकरण सिन्धुली शाखाको प्राविधिक सहयोगमा पालिकाको वडा नं. १, २, ३ र ४ मा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट बिजुली जोडिएको छ। पाँचवटा वडा रहेको उक्त पालिकामा अब वडा नं. ५ मा मात्रै राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न बाँकी रहेको छ।
त्यसैगरी तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये १० वटा वडा राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ। पालिकाको वडा नं. ७ मा विद्युत् लाइन विस्तार भएको र बत्ती बाल्न मात्रा बाँकी रहेको गाउपालिकाको अध्यक्षले जानकारी दिएका छन्।