चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरोको उच्च जोखिममा रहेका तुइन खोला र नाम्सी खोला क्षेत्रमा पहिरो रोकथामका लागि ठेक्का आह्वान गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले २५ करोड रुपैयाँको बजेटसहित जेठ १८ गतेसम्म आवेदन दिन सकिने गरी सूचना प्रकाशित गरेको हो।
सडक विस्तार र पुल निर्माणका क्रममा कमजोर चट्टान काटिएकाले यी क्षेत्रमा हरेक वर्ष पहिरो जाने समस्या हुँदै आएको छ। डिभिजन कार्यालयका अनुसार रक एङ्करिङ र रक नेटिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गरिनेछ।
बर्खायाममा यात्रुलाई सास्ती दिने यी क्षेत्रमा रातको समयमा पहिरो र ढुङ्गा खसेको अवस्था निगरानी गर्न फ्लड लाइट र सिसी क्यामेरा समेत जडान गरिएको छ।
काठमाडौं, पोखरा लगायतका प्रमुख शहर जोड्ने यो सडकखण्डबाट दैनिक १० हजारभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेका छन्। ३६ किलोमिटर लामो सडकमा ९ वटा उच्च जोखिम क्षेत्रमध्ये तुइन र नाम्सी सबैभन्दा जोखिमपूर्ण मानिन्छन्।
