म्याग्दी । म्याग्दी नदीको बाढी र कटान नियन्त्रणका लागि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ ।
मंगला गाउँपालिकाले संघीय सरकारको बिशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काशेबगर बस्ती संरक्षण योजना सञ्चालन गरेको हो । गत फागुन २६ गते रु.४२ लाख ३६ हजार आठ सय ९९ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बाढी र कटान रोकथामका लागि नदी किनारमा पक्की संरचना बनाउने कार्यलाई तीब्रता दिएको छ ।
मंगला गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख रुचेन्द्र अधिकारीले आगामी असार १० गतेसम्म ठेक्काको म्याद रहेको योजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको जानकारी दिए ।
बाबियाचौर बजारतर्फ म्याग्दी नदी किनारको ६८ मिटर दुरीमा ‘कम्पोजित’ प्रबिधीको पर्खाल भैरहेको छ । नदीको सतह भन्दा भित्रबाट तीन मिटर अग्लो पक्की ढलान र त्यसमाथी थप तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण हुनेछ।