काठमाडौं। यसो बिचार गर्दा २०४१ साल त अस्ति भर्खर जस्तो लाग्छ। त्यो बेला सम्म पोखरामा दुइ अंक र तीन अंकका टेलिफोन चल्दो रहेछ। यसले अटोमेटिक टेलिफोन एक्सचेन्ज पनि आइसकेको रहेनछ भन्ने देखाउँछ। मलाइ याद छ टेलिफोनको क्रेडल उठाए पछि एक्सचेन्जमा बस्ने कर्मचारीको आवाज आउथ्यो अनि आफूले खोजेको नम्बर मिलाइदिन अनुरोध गर्नुपर्थ्यो।
बुद्ध बिशाल बजार यहि २०४१ सालमा बन्न लागेको प्रमाण यो तस्विरले दिन्छ। बिशाल बजारको परिकल्पनाकारमा दुइ नाम छन्। मेरो साथी निर्मल भट्टचनको बुबा नन्दप्रसाद भट्टचन (वहाँ केही समय अगाडि मात्र बित्नुभयो) तथा भाइ सुनिल शेरचनको बुबा हर्कबहादुर शेरचन। अहिले नन्दप्रसाद भट्टचनको सम्पूर्ण हिस्सा बेचिसक्नुभयो भने अन्य नयाँ हिस्सेदारमा राष्ट्रिय वाणिज्य बैंक थपिएको छ।
पछाडी देखिएको भवन होटल एशियाको हो। निकै सपना संगालेर शुरुवात गरिएको होटल एशिया पनि चल्न सकेन। पछि यो जमिन पनि बुद्ध बिशाल बजार कम्पनीले नै खरिद गरेको थियो। भर्खर ३५ वर्ष बितेछ यि सब हामीले देखेको घटना हो। हामीले देखेको पुराना कुरा लेख्दा नै इतिहास बनिसकेछ भने हाम्रा बुबा बाजेका कथा त एकादेशको कथा झै लाग्छ।