पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निर्माण व्यवसायीमाथि थप कडा रूपमा प्रस्तुत हुने तयारीमा देखिएका छन्। मन्त्री लम्सालले केही दिनअघि दुई ठूला निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडूलाई प्रहरीमार्फत मन्त्रालय झिकाएर सोधपुछ गरेका थिए। सडक निर्माणमा ढिलाइ गरेको आरोपमा उनीहरूमाथि यस्तो कदम चालिएको बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार यो केवल सुरुवात मात्र हो। मन्त्रीको सचिवालयले अहिले थप निर्माण व्यवसायीहरूको सूची तयार गरिरहेको छ। सचिवालय सदस्य निरज भट्टराईले ‘ब्याकग्राउन्ड’ हेरेर करिब ८०–९० जना निर्माण व्यवसायीको विवरण संकलन गरिएको बताएका छन्।
निर्माण क्षेत्रमा सकारात्मक छवि भएका शर्मा र बडूलाई समेत नियन्त्रणमा लिएपछि मन्त्रालयभित्रै मन्त्रीको शैलीमाथि चासो बढेको छ। सचिव गोपाल सिग्देल र योजना आयोगका सदस्य अर्जुनजंग थापाले उनीहरूलाई गलत नियतका व्यवसायी नभएको भन्दै मन्त्रीलाई सम्झाएपछि मात्रै दुवै रिहा भएका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको कडा लाइनअनुसार मन्त्री लम्साल अघि बढिरहेको चर्चा मन्त्रालयमै छ। चुनावी सभामै प्रधानमन्त्रीले ढिलासुस्ती गर्ने ठेकेदारलाई ‘जसरी भए पनि काम गराउने’ चेतावनी दिएका थिए। अहिले त्यही शैली व्यवहारमै देखिन थालेको छ।