बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राम जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि यस सडकको कालोपत्र गर्ने काम सुरु भएको छ। काठेखोला–अछेतेदेखि तङ्ग्राम जोड्ने करिब ६ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रको काम अहिले अग्रसर छ।
पूर्वधार विकास कार्यालयका इन्जिनियर अनिल बर्देवाका अनुसार, चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु दुई करोड ८९ लाख ८४ हजार विनियोजन गरेको छ। यसै बजेटमा यस वर्ष करिब दुई किलोमिटर सडकमा प्रि–मिक्स प्रविधिबाट कालोपत्र गरिने योजना अघि बढाइएको छ।
गत वर्ष असारमा आरएस हिल जेभीसँग सम्झौता भइसकेको छ, जसअनुसार आगामी असार १५ गतेभित्र सडक स्तरोन्नति र कालोपत्रको काम पूरा गरिनुपर्नेछ। हाल सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम धमाधम भइरहेको छ। इन्जिनियर बर्देवाले बताए अनुसार, हालसम्म कामको ६० प्रतिशत सम्पन्न भएको छ।
सडक लामो समयसम्म स्तरोन्नति नहुँदा स्थानीय बर्खामा हिलो र हिउँदमा दुलोले समस्यामा परेको थियो। स्थानीय प्रेम थापाले भने, “सडक साँघुरो र अप्ठ्यारो भएकाले यात्रा र सामान ढुवानी कठिन हुन्थ्यो, अब केही सहज हुने देखिन्छ।”
गाउँपालिकाका अध्यक्ष राजु थापाले भने, “सडक स्तरोन्नति नहुँदा हजारौँ नागरिकले कठिनाइ भोग्नु परेको थियो। प्रदेश सरकारसँग सहकार्य गरेर कालोपत्र सुरु गरिएको हो। गाउँपालिकाको सीमित बजेटले यस्ता महत्त्वपूर्ण सडक समयमै कालोपत्र गर्न सक्दैन, तर आगामी वर्षभित्र सम्पूर्ण सडक कालोपत्र हुने अपेक्षा छ।”
सडकले काठेखोलाका वडा नं २, ३ र ४ का नागरिकलाई जिल्ला सदरमुकाम बागलुङ बजारसँग प्रत्यक्ष जोड्ने भएकाले यसको स्तरोन्नति र कालोपत्रले स्थानीय जीवनमा सहजता ल्याउने विश्वास गरिएको छ।