
पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।
निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए।