कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ ।
आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पु¥याइएको थियो । तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो ।
पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ । मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यकबाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाएको छ ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ । उहाँले कूल सडकखण्डमध्ये पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७ दशमलव २८ किलोमिटर सम्पन्न भएको जानकारी दिए ।
आयोजनाअन्तर्गत २० दशमलव ५५ किलोमिटर चार लेन सडक तथा १८ दशमलव १६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ । योजना प्रमुख कुँवरले इन्धन अभावले निर्माणमा प्रत्यक्ष असर परेको बताए ।