बागलुङ । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।
गण्डकी प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु १२ लाखमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए। बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्ष अगाडिमात्रै मोटरबाटोले जोडिएको थियो । यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए ।
आर्थिक वर्ष २०७६÷७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दामाथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थिएन । एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते जिम्मा पाएकामा वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताए ।