ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । यहाँको निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो ।
विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको रु एक÷एक करोड गरी रु दुई करोडमा स्तरोन्नति गरिएको हो ।
यस वर्ष चार किलोमिटर ग्राभेल, ढलान, नाली निर्माण, फराकिलो बनाउने र ग्याविन लगाउने काम गरिएको गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । आगामी असार १५ गतेसम्म काम सक्ने गरी जेएसआर÷केटी जेभीसँग विसं २०८२ माघ २७ गते सम्झौता गरिएकामा सोहीअनुसार काम भएको उनले बताए ।
बर्खाको समयमा निसीखोला गाउँपालिका–५ कालापैरामा आउने बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने हुँदा यस वर्ष वैकल्पिक सडकमार्फत यातायात सञ्चालन गर्न यस खण्डमा ग्राभेल गरिएको बाँठा मगरले बताए ।
उक्त सडक ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला–५ ढाँडसम्म २५ किलोमिटर लामो छ । यसले निसीखोला गाउँपालिकाको वडा नं २, ४, ५ र ढोरपाटन नगरपालिकाको वडा नं २ लाई जोडेको छ । दश वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख सङ्कलन गरी रु ६१ लाखमा ट्रयाक खोलिएको थियो ।