काठमाडौं। नेपालमा सन् २०२१ मा डेढ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार हवाई तथा भूमार्ग हुँदै सन् २०२१ मा नेपालमा एक लाख ५० हजार ९६२ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
सन् २०२० को तुलनामा २०२१ मा नेपाल भित्रिने पर्यटकको संख्यामा २५ प्रतिशतले कमि आएको तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा पर्यटकको संख्यामा कमि देखिएपनि यो सुधारोन्मुख भएको बोर्डले जनाएको छ।
अघिल्लो वर्षको तुलनामा पर्यटक संख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य संख्यामा बाह्य पर्यटक आएको बोर्डको भनाइ छ।
सन् २०२० मा दुई लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। जुन २०२० को तुलनामा १२.५ प्रतिशतले बढी थियो।