काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपालमा युरोपेली युनियन(ईयु)को उडान प्रतिबन्ध हटाउन सरकार संवेदनशील रहेको बताएका छन्।
मन्त्री आलेले नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ईयुको उडान कालोसूचीबाट बाहिर ल्याउन सरकार प्रयासरत रहेको बताएका हुन्।
उनले कालोसूचीबाट हटाउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको र विधेयक छिट्टै पारित गराउने बताए।
मन्त्री आलेले भने, ‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्। अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउँछौँ। यी विषयमा सरकार संवेदनशील छ।’
उनले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको बताए। मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको समेत जानकारी दिए।
उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको भन्दै यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनले बताए।