काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारप्रति लक्षित गर्दै दिएको अभिव्यक्ति विवादमा परेको छ। मन्त्री लम्सालले काममा ढिलासुस्ती भइरहेको भन्दै सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे “खुट्टा भाँचिदिनुस्” भन्ने अभिव्यक्ति दिएका हुन्।
आइतबार आयोजना क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायाम सुरु भइसकेकाले सम्भावित जोखिमलाई न्यूनिकरण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए। उनले जनताले लामो समयदेखि सडक निर्माणको ढिलाइका कारण सास्ती खेप्नुपरेको उल्लेख गर्दै लापरवाही र अनावश्यक ढिलाइ कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए।
अनुगमनका क्रममा निर्माण पक्षले सडक विस्तारमा बाधा बनेका विद्युत् पोल अझै नसारिएकाले काम प्रभावित भएको जानकारी गराएको थियो। त्यसपछि मन्त्री लम्सालले पोल स्थानान्तरणको जिम्मा लिएको ठेकेदारलाई तत्काल उपस्थित गराउन निर्देशन दिँदै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए।
‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’