काठमाडौं। रसुवामा निर्माणाधीन ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको काम ८३ प्रतिशत पूरा भएको छ। सान्जेन जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ। बाँध क्षेत्रको इन्टेक, डिसान्टरलगायतका निर्माण कार्य ९२ प्रतिशत पूरा भएको छ। आयोजनाको ३ हजार ६ सय ४० मिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी फाइनल सर्पोटको काम भइरहेको छ।
विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न गरी पर्खाल ढलानको काम भइरहेको कम्पनीले जनाएको छ। ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ।
कम्पनीले २०१३ सेप्टेम्बर ४ मा इलेक्ट्रोमेकानिल उपकरण जडानका लागि ठेक्का सम्झौता गरेको थियो। अहिले उपकरण डिजाइन, जडान र आयातको काम भइरहेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण चिनियाँ नाका भन्सारबाट उपकरण आयात गर्न नसक्दा काम प्रभावित भएको थियो। अहिले सहज भएपछि उपकरण आयाताको काम भइरहेको छ। जसले गर्दा काम धमाधम अगाडी बढीरहेको छ।