म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित हुमखोलामा ‘मौरिस हर्जोग’ पदमार्गअन्तर्गत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको पुल सञ्चालनमा आएपछि स्थानीयवासी र अन्नपूर्ण आधार शिविर जाने पर्यटकलाई आवतजावतमा ठूलो सहज भएको छ। यसअघि काठको अस्थायी पुलबाट जोखिम मोलेर आलोपालो खोला तर्नुपर्ने बाध्यता थियो।
गाउँपालिकाका अनुसार पुलबाट नारच्याङका ५४९ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने निर्माणका क्रममा एक हजार २२१ जनाले रोजगारी पनि पाएका छन्।
संघीय सरकार, अन्नपूर्ण गाउँपालिका, स्थानीयवासीको श्रमदान तथा गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो।
नारच्याङबाट करिब दुई घण्टाको सवारी यात्रापछि पुगिने हुमखोला नै अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेशद्वार हो। प्राकृतिक सौन्दर्य, हिमशृङ्खला र पञ्चकुण्ड तालका कारण यो पदमार्ग पछिल्लो समय लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।